त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली र हङकङको लागि उडान सुरू गरेको नेपाल एयरलाइन्सले पहिलो दिन दिल्ली र हङकङका यात्रुबिना नै उडान गरेको छ।

उडानको पहिलो दिन मंगलबार नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र हङकङ जाने कुनै पनि यात्रु पाउन नसकेको जनाएको छ।

नेपाल एयरलाइन्सले काडमाडौंलाई ट्रान्जिट बनाएर उडान सुरू गर्न लागेको भन्दै सोमबारदेखि मात्रै टिकट बुकिङ खुला गरेको थियो। तर पहिलो दिनको उडानमा दिल्ली र हङकङ जाने कुनै पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ।

नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले सोमबारदेखि मात्र टिकट बुकिङ खुला भएकाले टिकट काट्ने यात्रु नभएको र सिस्टममा समेत केही समस्या भएकोले मंगलबार काठमाडौं ट्रान्जिट भएर जाने यात्रु नभएको बताए।  

नेपाल एयरलाइन्सले झण्डै तीन महिनादेखि मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको छ।

राष्ट्रिय ध्वजावाहकले साप्ताहिक रूपमा मलेसियाको क्लालालम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौं जाने गरेको छ। यसअघि मलेसियाबाट आएका यात्रुलाई भैरहवामा झार्ने बाहेक भैरहवाबाट यात्रु चढाउने गरेको थिएन।

मंगलबारदेखि मलेसियाबाट आउने सोही जहाजमा हङकङ र दिल्ली जान पाउने गरी उडान सुरू गरे पनि गन्तव्यमा जाने एउटा पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ।

पहिलो दिन गन्तव्यमा जाने यात्रु नभए पनि अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात् यही भदौ १९ गते हुनेछ। सो दिनको टिकट बुकिङ गर्दा काठमाडौंबाट हङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५ सय ५१ तोकिएको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *